आलमको घरमा तोडफोड गरी प्रहरीले आतंक मच्चायो: कांग्रेस

नेपाली कांग्रेसले आफ्ना पार्टीका जेलमा रहेका सांसद अफताब आलमको रौतहटस्थित घरमा प्रहरीले तोडफोड गरी आतंक मच्चाएको आरोप लगाएको छ। गत बिहीबार मध्यरातमा प्रहरीले आलमको घरमा खानतलासी गरेको थियो। आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले सांसद आलमको घरमा प्रहरीले तोडफोड गरेकोमा निन्दा गरेको हो।

‘जेलमा रहेका कांग्रेसका सांसद अफताब आलमको घर रौतहटमा नेपाल प्रहरीले मध्यरातिको समयमा घर घेरेर तोडफोड समेत गरी आतंक मच्चाएको घटनालाई बैठकले निन्दा गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले भनेको छ। १२ वर्षअघि रौतहट बम बिस्फोट तथा सामुहिक हत्याकाण्डमा पुर्पक्षका लागि आलम यसअघि नै जेल चलान भएका छन्।

हत्याकाण्डमा संलग्न उनका भाइ महताब आलमलाई खोजिरहेको प्रहरीले बिहीबार मध्यरातमा रौतहटस्थित घरमा छापा मारेको थियो। महताब आलम घर आएको सूचना पाएपछि प्रहरी टोली छापा मार्न गएको हो। छापा मार्ने क्रममा स्थानीयले अवरोध गरेपछि प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्